क्रियापद
सामान्य क्रियापदले कर्ताले गरेको काम (दौडनु, रोक्नु), घटेको घटना (उभिनु, पग्लनु) अथवा वस्तुको अवस्था वा स्थिति (हुनु, हराउनु) लाई बुझाउँछ । एलेफेनमा काल तथा भाव बुझाउनका लागि क्रियाको विकार हुँदैन । क्रियापदको परिवर्तन गर्नुको सट्टामा क्रियाविशेषणको प्रयोग गरिन्छ, विशेष गरी ia, va र ta को । कुनै पनि क्रियापदमा कुनै परिवर्तन नगरी त्यसलाई नामको रूपमा प्रयोग गर्न सकिन्छ ।
काल
एलेफेनमा भविष्यत्काल जनाउनका लागि फ्रेन्च मूलको va र भूतकाल तथा पूर्ण वर्तमानकाल जनाउनका लागि चावाकानो मूलको ia क्रियाविशेषणको प्रयोग गरिन्छ । यी विशेष शब्द हुन् जसलाई क्रियापदको अगाडि राखिन्छ । सामान्य तथा अपूर्ण वर्तमानकाल जनाउन कुनै विशेष शब्दको प्रयोग गरिँदैन :
- Me canta. – म गाउँछु / म गाउँदै छु ।
- Me va canta. – म गाउने छु ।
- Me ia canta. – मैले गाएँ / म गाउँदै थिएँ / मैले गाएको थिएँ / मैले गाएको छु ।
कथाहरूमा प्रायः वास्तविक वा काल्पनिक विगतका घटनाहरूको वर्णन गरिएको हुन्छ किंवा समयावधिको खास वास्ता हुँदैन । त्यस्ता स्थितिहरूमा ia को प्रयोग नगर्दा पनि हुन्छ ।
एलेफेनमा “मैले खाएँ”, “म खान्थेँ”, “मैले खाएको छु” र “मैले खाएको थिएँ” जस्ता कालका पूर्ण तथा अपूर्ण पक्षहरूमा फरक छुट्ट्याइँदैन । यद्यपि, ja (“पहिल्यै”) को प्रयोग गरी क्रियाका क्रमको स्पष्टीकरण गर्न सकिन्छ :
- Cuando tu ia encontra nos, nos ia come ja. – तिमीले हामीलाई भेट्दा हामीले खाइसकेका थियौँ ।
- Si tu reveni doman, me va fini ja la labora. – तपाईँ भोलि आउनुहुन्छ भने मैले काम सिद्ध्याइसकेकी हुने छु ।
- Sempre cuando me ateni la fini de un capitol, me oblida ja la titulo. – पाठको अन्त्यसम्म पुग्नुसम्म मैले पाठको शीर्षक बिर्सिसकेको हुने छु ।
सामयिक क्रमको स्पष्टीकरणका लागि निम्न उपायहरू अपनाउन सकिन्छ :
- Me ia come ante aora. – मैले अघि भर्खर खाएँ ।
- Me ia come plu temprana. – मैले अघि नै खाएँ ।
- Me ia fini come. – मैले खाने काम सिद्ध्याएँ ।
- Me va come pronto. – म छिटै खाने छु ।
- Me comensa come. – म खान सुरु गर्छु ।
- Me va come pos acel. – म त्यसपछि खान्छु ।
- Me va come plu tarda. – म पछि खान्छु ।
- Me ia abitua come en la note. – म राति खान्थेँ ।
- Me ia come abitual en la note. – म राति खान्थेँ ।
एलेफेनमा सङ्केतार्थ वाक्यका लागि हाइतेली मूलको ta को प्रयोग गरिन्छ, जसले कुनै वाक्यमा बताइएको कुरा अवास्तविक, काल्पनिक वा इच्छित हो भन्ने कुरा जनाउँछ । Ta लगाइएको वाक्यले वैकल्पिक वास्तविकताको सङ्केत गर्छ । Si (“यदि”) रहेको उपवाक्यामा ta को प्रयोग त गरिँदैन तर गरे पनि फरक भने पर्दैन । त्यसो गर्दा va ले जनाउनेभन्दा कम सम्भव भविष्यको वर्णन हुन्छ । Ta लाई विनम्र अनुरोधका लागि पनि प्रयोग गर्न सकिन्छ । अन्य भाषामा ससर्त तथा सङ्केतार्थ भाव बुझाउनका लागि प्रयोग गरिने क्रियापद झैँ एलेफेनमा ta को प्रयोग गरिन्छ र सामान्यतया यसलाई नेपालीमा “हुन्थ्यो” को अर्थमा अनुवाद गरिन्छ :
- Si me ta rena la mundo, cada dia ta es la dia prima de primavera. – मैले संसारमा राज गरेको भए प्रत्येक दिन वसन्तको प्रथम दिन झैँ हुन्थ्यो ।
- Si lo no esiste, on ta debe inventa lo. – त्यसको अस्तित्व नरहेको भए तिमीले त्यसको आविष्कार गर्नुपर्ने हुन्थ्यो ।
- Si tu canta, me va escuta. – तिमीले गाए म सुन्छु ।
- Si tu va canta, me va escuta. – तिमीले गाए म सुन्ने छु ।
- Si tu canta, me ta escuta. – तिमीले गाए म सुन्थेँ ।
- Si tu ta canta, me ta escuta. – तिमीले गाउने भए मैले सुन्ने थिएँ ।
- Me duta ce tu ta dise acel. – तिमीले त्यसो भन्छौ भन्ने मलाई सन्देह लाग्छ ।
- Tu ta dona la sal, per favore? – के तपाईँ कृपया मलाई त्यो नुन दिन सक्नुहुन्छ ?
सामान्यतया एउटा क्रियापदसँग va, ia र ta मध्ये एउटा मात्र क्रियाविशेषणको प्रयोग गर्न सकिन्छ । यस नियमको एक मात्र अपवाद ia ta हो, जसलाई रोमान्स भाषाहरूमा झैँ भूतकालीन ससर्त वाक्यको अर्थमा प्रयोग गरिन्छ । भूतपूर्व अमेरिकाली राष्ट्रपति रिचर्ड निक्सनद्वारा कथित निम्न चुट्किलालाई यसको उदाहरण मान्न सकिन्छ :
- Me ia ta es un bon pape. – म एउटा राम्रो पोप हुने थिएँ ।
एलेफेनमा नेपालीमा झैँ अप्रत्यक्ष कथनमा पनि प्रत्यक्ष कथनको काललाई कायम राखिन्छ :
- El ia dise ce la sala es fria. = El ia dise: “Oji, la sala es fria.” – उसले कोठा चिसो छ भन्यो । = “उसले भन्यो, आज कोठा चिसो छ ।”
- El ia demanda esce la sala es fria. = El ia demanda: “Esce la sala es fria?” – उनले कोठा छ कि भनेर सोधे । = उनले सोधे, “कोठा चिसो छ ?”
- El ia pensa ce la sala ia es fria. = El ia pensa: “Ier, la sala ia es fria.” – उहाँले कोठा चिसो थियो भन ठान्नुभयो । = उहाँले ठान्नुभयो, “हिजो कोठा चिसो थियो ।”
आज्ञार्थ
आज्ञार्थ वाक्यहरू अचिह्नित हुन्छन्, अर्थात् वाक्य आज्ञार्थ हो भनेर बुझाउन कुनै विशेष शब्द वा वाक्यांशको प्रयोग गर्नुपर्दैन । यसमा भने सामान्य वर्तमानकालीन वाक्यको विपरीत कर्तालाई नकारिन्छ । सामान्यतया आज्ञार्थ वाक्यमा द्वितीय पुरुषवाचक सर्वनाम, अर्थात् tu वा vos, नै कर्ताका भूमिकामा प्रसुत हुन्छन् । कर्ताको प्रयोग गर्नै परेमा ta वा ta ce को प्रयोग गर्न सकिन्छ :
- Para! – रोक !
- Pardona me. – माफ गर्नुहोला ।
- Toca la tecla de spasio per continua. – अघि बढ्नका लागि स्पेसबार थिच्नुहोस् ।
- Vade a via, per favore! – कृपया उता जानुहोस् !
- Ta ce tua rena veni! – तिम्रो राज चिरञ्जीवी होस् !
- Ta ce nos dansa! – नाचौँ !
निषेध
क्रियापदको अर्थको निषेध गर्नका लागि no क्रियाविशेषणको प्रयोग गरिन्छ, जुन दुवै क्रियापद र va, ia वा ta को अगाडि राखिन्छ :
- Me no labora oji, e me no va labora doman. – म आज काम गरिरहेको छैन र म भोलि पनि काम गर्ने छैन ।
- El no ia pensa ce algun es asi. – उसलाई त्यहाँ कोही उपस्थित थियो जस्तो लागेन ।
- No traversa la strada sin regarda. – नहेरी बाटो नकाट ।
कृदन्त
विशेषण वा क्रियाविशेषणको रूपमा प्रयोग गरिने क्रियापदलाई कृदन्त भनिन्छ । क्रियामा -nte प्रत्यय जोडेर सक्रिय कृदन्त र -da प्रत्यय जोडेर निष्क्रिय कृदन्त बनाइन्छ । यसरी बनेका कृदन्त विशेषण हुन् जसलाई क्रियाविशेषण र नामका रूपमा प्रयोग गर्न सकिन्छ । सामान्यतया सक्रिय कृदन्तले वर्तमानमा घटिरहेको घटनालाई बुझाउँछ भने निष्क्रिय कृदन्तले विगतमा घटेको घटनालाई बुझाउँछ :
- Un ruido asustante ia veni de la armario. – अलमारीबाट भयानक आवाज आयो । (विशेषण)
- La om creante scultas es amirable. – मूर्ति निर्माण गरिरहेको व्यक्ति सराहनीय छ । (विशेषण)
- El ia sta tremante en la porta. – ऊ दैलोमा काम्दै उभिइन् । (क्रियाविशेषण)
- Nos ia colie tota de la composantes. – हामीले सब पुर्जा जम्मा गर्यौँ । (नाम)
- Per favore, no senta sur la seja rompeda. – कृपया भाँचिएको कुर्सीमा नबस्नुहोस् । (विशेषण)
- El ia cade embarasada tra la seja. – उनी लाजमर्दो ढङ्गले कुर्सीबाट लडे । (क्रियाविशेषण)
- Sua novela va es un bonvendeda. – उनको उपन्यास सबभन्दा बढी बिक्री हुने रचना हुने छ । (नाम)
सक्रिय कृदन्तको कर्म हुन सक्छ । यसबाहेक यसलाई गतिशीलताको अर्थ जनाउनका लागि es क्रियापदको पूरकको रूपमा प्रयोग गर्न सकिन्छ :
- Me es lenta asorbente la informa. – म बिस्तारै जानकारी लिँदै छु ।
- Me no ia disturba tu, car tu ia es laborante. – मैले तिमीलाई विक्षुब्ध गरिनँ किनभने तिमी काम गर्दै थियौ ।
यद्यपि, कृदन्तको प्रयोग प्रायः आवश्यक हुँदैन किनभने उही अर्थ बुझाउनका लागि विभिन्न तरिकाले वाक्यको रचना गर्न सकिन्छ :
- Me asorbe lenta la informa. – म बिस्तारै जानकारी लिँदै छु ।
- Vade a via, me labora. – उता जाऊ, म काम गर्दै छु ।
- Me continua come. – म खाने कामलाई निरन्तरता दिन्छु ।
- Me come continual. – म निरन्तर रूपमा खान्छु ।
- Me come tra la dia intera. – म दिनभर खान्छु ।
निष्क्रिय कृदन्तलाई es वा deveni को पूरकको रूपमा प्रयोग गरी कर्मवाच्य वा भाववाच्य वाक्यको रचना गर्न सकिन्छ । Par (“बाट”, “द्वारा”) को प्रयोग गरी वाक्यमा कर्तालाई गौण र कर्मलाई प्रधान बनाइन्छ :
- Esta sala ia es pintida par un bufon. – यो कोठामा एउटा उल्लुद्वारा रङ लगाइएको थियो ।
- La sala deveni pintida. – कोठामा रङ लगाइँदै थियो ।
- Acel ponte ia es desiniada par un injenior famosa. – त्यो पुल एउटा प्रसिद्ध इन्जिनियरद्वारा निर्माण गरिएको थियो ।
- Lo ia deveni conoseda ce el ia es un om perilosa. – ऊ एक खतरनाक मान्छे हो भनेर थाहा भइयो ।
कर्मवाच्य वा भाववाच्य वाक्यका विकल्पका रूपमा on वा algun लागेका कर्तृवाच्य वाक्यको पनि प्रयोग गर्न सकिन्छ :
- On pinti la sala. – एक जनाले कोठामा रङ लगाउँदै छ ।
- On no sabe cuanto persones teme aranias. – कति जनालाई माकुरादेखि डर लाग्छ भन्ने थाहा छैन ।
- Algun ia come lo. – कसैले खाइदियो ।
Es को सक्रिय कृदन्त esente हो :
- Esente un bufon, el ia senta sur la seja rompeda. – उल्लु भएको हुनाले ऊ भाँचिएको कुर्सीमा बस्यो ।
कर्मकता
सम्बन्ध कारकको प्रयोग नगरी नै नामिक पदलाई कर्मको रूपमा स्विकार्ने क्रियालाई सकर्मक क्रिया भनिन्छ । अकर्मक क्रियाले भने कर्म नलिई वाक्यलाई पूरा गर्न सक्छ । उदाहरणका लागि,
- Me senta. – म बस्दै छु । (senta अकर्मक क्रिया हो)
- La patatas coce. – आलु पाक्दै छ । (coce अकर्मक क्रिया हो)
- El usa un computador. – उनी कम्प्युटर चलाउँदै छिन् । (usa सकर्मक क्रिया हो)
- Los come bananas. – उनीहरू केरा खाँदै छन् । (come सकर्मक क्रिया हो)
एलेफेनमा कर्मकतासम्बन्धी कडा नियमहरू छैनन् । उदाहरणका लागि, अकर्मक क्रियाको पछाडि कुनै कर्म राखेमा सो क्रिया सकर्मक बन्छ । उक्त कर्मले भने अकर्मक क्रियासँग नै मेल खान्छ र फलस्वरूप सो क्रिया प्रेरणार्थक बन्छ :
- Me senta la enfantes. – म बच्चाहरूलाई बसाउँछु । (= Me causa ce la enfantes senta)
- Me coce la patatas. – म आलु पकाउँछु । (= Me causa ce la patatas coce)
निश्चित प्रसङ्गमा आफैँ वाक्यको अर्थ स्पष्ट हुने अवस्थामा सकर्मक क्रियाको कर्मलाई पनि नकार्न सकिन्छ :
- El canta un melodia. – उनी एक धुन गाउँदै छिन् । > El canta. – उनी गाउँदै छिन् । (= El canta alga cosa)
क्रियाको कर्ता र कर्म एउटै भएको अवस्थामा कर्मको रूपमा निजवाचक सर्वनामको प्रयोग गर्न सकिन्छ :
- Me senta me. – म आफैँ बस्छु । (= Me deveni sentante)
- La porte abri se. – ढोका आफैँ खुल्छ । (= La porte abri – तर आफैँ खुलिरहेको कुरामा जोड दिँदै)
यसका साथै क्रियालाई प्रेरणार्थक अर्थमा प्रस्तुत गर्नका लागि fa वा causa को प्रयोग गर्न सकिन्छ :
- Me fa ce la enfantes senta. – म बच्चाहरूलाई बसाउँछु । (= Me senta la enfantes)
- Me causa ce la fango adere a mea botas. – म बुटमा हिलो टँसाउँछु । (= Me adere la fango a mea botas)
केही भाषाहरूमा सकर्मक क्रियाको कर्ममा पूरक जोडिन्छ । एलेफेनमा भने यसका लागि वाक्यको विभिन्न शैलीको प्रयोग गरिन्छ :
- Los ia eleje el a presidente. – उनीहरूले उनलाई राष्ट्रपति बनाए । (परिणामवाचक सम्बन्ध कारक)
- Me ia pinti la casa a blanca. – मैले घरमा सेतो रङ लगाएँ । (परिणामवाचक सम्बन्ध कारक)
- Me ia fa ce el es felis. – मैले उसलाई खुसी बनाएँ । (नामिक उपवाक्य)
- El ia dise ce me es stupida. – उसले मलाई मूर्ख भन्यो । (नामिक उपवाक्य)
यस नियमको एउटा अपवाद nomi क्रियापद हो, जसलाई समानाधिकरणको उदाहरण मानिन्छ :
- La esplorores ia nomi la rio la Amazon. – यात्रीहरूले नदीको नाम अमेजन राखिदिए ।
प्रतिरूपी कर्ता भएको क्रियापद
एलेफेनमा सबै समापक क्रियासँग स्थानधारकका रूपमा भए पनि कर्ता राख्नु आवश्यक हुन्छ ।
नेपालीलगायत अन्य भाषाहरूमा मौसम वा सामान्य वातावरणको कुरा गर्दा कर्तालाई नकार्न सकिन्छ । एलेफेनमा भने lo को प्रयोग गरिन्छ :
- Lo neva. – हिउँ पर्दै छ ।
- Lo va pluve. – पानी पर्न लागेको छ ।
- Lo es tro calda en esta sala. – यस कोठामा असाध्यै गर्मी छ ।
- Lo es bon – राम्रो छ ।
नामिक उपवाक्यको पछाडि कर्ताको प्रयोग गर्ने पद्धतिलाई यसको उदाहरण मान्न सकिन्छ । क्रियापदको पछि आउने हुनाले lo लाई प्रतिरूपी कर्ताको रूपमा प्रयोग गरिन्छ :
- Lo pare ce tu es coreta. – तिमी ठिक छौ जस्तो देखिन्छ ।
- Lo es importante ce me no oblida esta. – यो कुरा मैले नबिर्सनु महत्त्वपूर्ण छ ।
त्यसैगरी es क्रियापदसँग प्रयोग भएको कर्ता सम्बन्धवाचक उपवाक्यको पछि आएको सर्वनाम (विशेषतः el, lo वा los) हो भने वास्तविक कर्तालाई वाक्यको अन्त्यमा पुर्याई प्रतिरूपी कर्ताको ठाउँमा lo लाई स्थानापन्न गर्न सकिन्छ :
- Lo es me ci ama Maria. = El ci ama Maria es me. – मारियालाई माया गर्ने म हुँ ।
- Lo es Maria ci me ama. = El ci me ama es Maria. – मैले माया गर्ने मारिया हो ।
- Lo es la bal blu cual me ia perde. = Lo cual me ia perde es la bal blu. = La bal blu es lo cual me ia perde. – मैले हराएको कुरो निलो बल हो ।
On ave ले कुनै कुराको उपस्थिति वा अस्तित्व जनाउँछ :
- On ave un serpente en la rua. – सडकमा सर्प छ ।
- On no ave pexes en esta lago. – यस तलाउमा कुनै माछा छैन ।
- On ave multe persones asi oji. – आज यहाँ धेरै मान्छे छैनन् ।
नामका रूपमा क्रियापद
एलेफेनमा क्रियापदलाई धातु र क्रियापदीय नाम गरी दुई तरिकाले नामको रूपमा प्रयोग गर्न सकिन्छ । दुवै तरिकामा क्रियापदको स्वरूपमा कुनै फेरबदल गरिँदैन । धातुले कर्ता वा काल तथा भावको सूचकलाई स्विकार्दैन तर क्रियाविशेषण र कर्मलाई स्विकार्छ र वाक्यमा प्रायः अर्को क्रियापद वा सम्बन्ध कारकको पछाडि आउँछ । क्रियापदीय नाम भने वास्तविक नाम नै हो र त्यसको अगाडि la वा अन्य निर्धारकको प्रयोग गरिन्छ । सो नामले विशेषणलाई स्विकार्छ तर कर्मलाई जोड्नका लागि कुनै एक सम्बन्ध कारक (विशेषतः de) को प्रयोग गर्नुपर्ने हुन्छ ।
धातुलाई अर्को क्रियापदको कर्मको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एलेफेनमा त्यसो गरेमा एउटा क्रियापदीय शृङ्खलाको निर्माण हुन्छ । पहिलो क्रियापदको कर्ता दोस्रो क्रियापदको पनि कर्ता हुनुपर्छ र कर्मलाई दोस्रो क्रियापदको पछाडि राख्नुपर्छ । पहिलो क्रियापदको पछि त्यसको विशेषता जनाउने क्रियाविशेषण तथा दोस्रो क्रियापदलाई नकार्नका लागि no राख्न सकिन्छ :
- Me espera ariva ante tua parti. – म तिमी जानुभन्दा अगाडि आउन चाहन्छु ।
- Me ia gusta multe escuta oji mea musica. – मलाई आज मेरो सङ्गीत सुनेर मजा आयो ।
- On pote nunca spele coreta mea nom. – मान्छेहरूले कहिल्यै मेरो नाम ठिक ढङ्गले लेख्न सक्दैनन् ।
- El teme no velia en la matina. – उसलाई बिहान नउठ्ने डर लाग्छ ।
प्रमुख क्रियापदको कर्मको भूमिका निभाउनका साथै क्रियापद वाक्यमा सम्बन्ध कारकको पछाडि पनि आउन सक्छ । फेरि पनि त्यस्ता क्रियापदको अगाडि no र पछाडि क्रियाविशेषणको प्रयोग हुन सक्छ :
- Me viaja per vide la mundo. – म संसार हेर्न घुमिरहेकी छु ।
- El ia mori pos nomi sua susedor. – आफ्नो उत्तराधिकारीको नामकरण गरेपछि उनको मृत्यु भयो ।
- El ia abri la noza par colpa lo forte con un martel. – उनले हतौडाले हानेर ओखर फुटाए ।
- On no pote pasea tra la mundo sin lasa impresas de pede. – पदचिह्न नछोडी तिमी यस संसारमा हिँड्न सक्दैनौ ।
क्रियापदीय नामको स्वरूप पनि क्रियापदको जस्तो नै हुन्छ तर क्रियापदीय नामको परिचय गराउनका लागि la वा अन्य निर्धारकको प्रयोग गर्नुपर्छ र सो नाम बहुवचन हुनुपर्छ । सो नामले कि त कुनै घटना घटेको बुझाउँछ नभए सो घटनाको तत्काल परिणामलाई बुझाउँछ :
- Sua condui ia es vera xocante. – उसको व्यवहार असाध्यै नीच थियो ।
- La valsa e la samba es dansas. – वाल्ट्स र साम्बा नाच हुन् ।
- Esta va es un ajunta bela a la ragu. – यो झोलको लागि राम्रो जोड हुने छ ।
- Me ia prepara du traduis de la testo. – मैले पाठका दुइटा अनुवाद तयार परेकी छु ।
- “LFN” es un corti de “Lingua Franca Nova”. – “एलेफेन” “लिङ्ग्वा फ्राङ्का नोभा” को सङ्क्षेपक चिह्न हो ।
- La universo ia es estrema peti a la momento de sua crea. – रचनाको बेला ब्रह्माण्ड असाध्यै सानो थियो ।
Ajunta जस्तो क्रियापदमा un ajunta र un ajuntada बिच खासै फरक छैन तर la tradui बनाउने मूल पाठ la traduida हो र un crea बाट un creada को रचना हुन्छ । यी नामहरू क्रियापदका कर्मका अर्थमा नै प्रयोग हुने गर्छन् : -da ले जहिले पनि कर्मलाई बुझाउँछ । Crea को साथमा कर्मको कामको परिणाम पनि हुन्छ तर tradui का साथमा कर्म र कामका परिणाम भिन्न हुन्छन् । Dansa जस्ता कर्म र कामको परिणाम एउटै हुने क्रियापदहरूमा un dansa भन्ने गरिन्छ, un dansada भनिँदैन ।
कर्ताको रूपमा क्रियापदको प्रयोग गर्दा सो वाक्य आज्ञार्थ वाक्य जस्तै सुन्न सक्छ । यस्तो नहोस् भन्नका लागि क्रियापदको अगाडि la वा अन्य निर्धारकको प्रयोग गरी किंवा बहुवचन प्रत्ययको प्रयोग गरी सो क्रियापदलाई क्रियापदीय नाममा बदल्न सकिन्छ :
- La nada es un bon eserse. – पौडी एक राम्रो व्यायाम हो ।
- La scrive de un bon libro es multe dificil. – राम्रो किताब लेख्नु असाध्यै गाह्रो हुन्छ ।
- La era es umana, la pardona es divin. – गल्ती गर्नु मानवीय हो, क्षमा गर्नु ईश्वरीय ।