हिज्जे र उच्चारण
वर्णमाला
एलेफेनले विश्वमा सर्वाधिक प्रयोग गरिने रोमन लिपिको प्रयोग गर्छ ।
- लघ्वक्षर
- a b c d e f g h i j l m n o p r s t u v x z
- बृहदाक्षर
- A B C D E F G H I J L M N O P R S T U V X Z
गैर-रोमान्स मूलका अन्तर्राष्ट्रिय शब्दहरूलाई चिन्न सजिलो बनाउनका लागि U को ठाउँमा W र I को ठाउँमा Y को प्रयोग गर्न सकिन्छ : ioga/yoga, piniin/pinyin, sueter/sweter, ueb/web ।
H पनि केही पारिभाषिक तथा सांस्कृतिक शब्दहरूमा बाहेक अन्य शब्दहरूमा कम नै देखिन्छ ।
बृहदाक्षर
वाक्यको पहिलो शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ ।
बृहदाक्षरलाई व्यक्तिवाचक नामको सुरुवातमा पनि प्रयोग गरिन्छ । कुनै पनि व्यक्तिवाचक नाममा एकभन्दा बढी शब्दहरू छन् भने la र de जस्ता सानातिना शब्दहरूबाहेक अरू सबै शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ :
- वास्तविक वा काल्पनिक व्यक्ति तथा मानवीकृत वस्तु तथा पशुधन
- Maria, San Paulo, Barack Obama, Seniora Braun, Jan de Hartog, Oscar de la Renta, Mickey Mouse
- आयोजना, सङ्गठन, सङ्घसंस्था तथा समाज
- Ikea, Nasiones Unida, Organiza Mundal de Sania
- महादेश, देश, सहर, गाउँ तथा अन्य राजनीतिक एकाइ
- Frans, Atina, Site de New York, Statos Unida de America
- हिमाल, पहाड, महासागर, सागर, नदी, ताल तथा अन्य भौगोलिक स्थल
- la Alpes, Rio Amazon, Mar Atlantica
- एकल स्वरवर्ण तथा व्यञ्जनवर्ण
- E, N
यद्यपि, कलात्मक तथा साहित्यिक रचनाका नाममा केवल पहिलो शब्दको सुरुवातमा बृहदाक्षरको प्रयोग गरिन्छ :
- Un sonia de un note de mediaestate – अ मिडसमर नाइट्स ड्रिम
- La frates Karamazov – द ब्रदर्ज कारामाजोभ
- Tocata e fuga en D minor – तोकाता एन्ड फुगा इन डी माइनर
कहिलेकाहीँ, चेतावनीमा झैँ सम्पूर्ण शब्द वा उपवाक्यमा जोड दिनलाई त्यसलाई बृहदाक्षरमा लेखिन्छ ।
केही भाषामा बृहदाक्षरको प्रयोग गरिने स्थितिमा पनि एलेफेनमा लघ्वक्षरकै प्रयोग गरिन्छ :
- बार
- lundi, jovedi – सोमबार, बिहीबार
- महिना
- marto, novembre – मार्च, नोभेम्बर
- चाडपर्व वा सार्वजनिक बिदाको दिन
- natal, ramadan, pascua – क्रिसमस, रमजान, इस्टर
- शताब्दी
- la sentenio dudes-un – एक्काइसौँ शताब्दी
- भाषा तथा समुदाय
- catalan, xines – कातालान, चिनियाँ
अक्षरका नाम
कुनै शब्दको हिज्जे वाचन गर्दा वा सामान्य रूपमा एलेफेन वर्णमालाको वाचन गर्दा निम्न शब्दांश वा लगभग उस्तै तरिकाले उच्चारण गरिने नेपालीमा अनुपस्थित शब्दांशको प्रयोग गरिन्छ :
- a be ce de e ef ge hax i je ka el em en o pe qua er es te u ve wa ex ya ze
यी नाम हुन् र यिनीहरूलाई बहुवचन बनाउन सकिन्छ : as, bes, efes.
लेख्दाखेरि अक्षरको एकल रूपलाई बृहदाक्षरमा प्रस्तुत गर्न सकिन्छ र बहुवचन मा -s प्रत्यय लगाउन सकिन्छ :
- La parola “matematica” ave tre As, du Ms, e un E. – “matematica” शब्दमा तीनवटा “A”, दुइटा “M” र एउटा “E” हुन्छ ।
स्वरवर्ण
A, E, I, O र U लाई स्पेनिया भाषामा जस्तै गरी उच्चारण गरिन्छ ।
सन्ध्यक्षर
दुइटा स्वरवर्णलाई क्रमशः प्रयोग गर्दा ती स्वरवर्णलाई छुट्टाछुट्टै उच्चारण गरिन्छ ।
यद्यपि, क्रममा दोस्रो स्वरवर्ण I वा U हो भन्ने त्यसले एउटा सन्ध्यक्षर बनाउँछ :
| AI | [aj] | “सोसाइटी” को “आइ” जस्तो उच्चारण | pais |
| AU | [aw] | “साउन” को “आउ” जस्तो उच्चारण | auto |
| EU | [ew] | “देउता” को “एउ” जस्तो उच्चारण | euro |
| OI | [oj] | “पोइ” को “ओइ” जस्तो उच्चारण | seluloide |
उपसर्गको प्रयोग गरेर सन्ध्यक्षर बन्दैन : reuni [re-uni], supraindise [supra-indise] । समान कारणले गर्दा केही अन्य शब्दहरूमा पनि दुइटा भिन्न शब्दांशको उच्चारण गरिन्छ : egoiste [ego-iste], proibi [pro-ibi] । त्यस्ता शब्दलाई शब्दकोशमा सङ्केत गरिएको हुन्छ, जस्तै — “proibi” (o-i) ।
EI को प्रयोग पनि थोरै नै हुन्छ । उक्त स्वरानुक्रमलाई भिन्न स्वरका रूपमा उच्चारण गरिन्छ : ateiste [ate-iste], feida [fe-ida], reinventa [re-inventa] । तथापि, यसरी भिन्न स्वरको उच्चारण गर्न गाह्रो मान्ने व्यक्तिहरूले यस स्वरानुक्रमलाई [ej] वा [e] को रूपमा पनि उच्चारण गर्न सक्छन् ।
जब I वा U लाई कुनै स्वरवर्णको अगाडि प्रयोग गरिन्छ, तब निम्न अवसरहरूमा त्यसलाई अङ्ग्रेजी Y वा W को रूपमा उच्चारण गरिन्छ :
- शब्दको सुरुवातमा
- ioga [joga], ueste [weste]
- दुइटा स्वरवर्णको बिचमा
- joia [ʒoja], ciui [kiwi], veia [veja]
- दुइटा स्वरवर्णको बिचमा LI वा NI को प्रयोग हुँदा
- folia [folja], anio [anjo] – pero no en la primera sílaba de una palabra
- स्वरवर्णको अगाडि CU वा GU को प्रयोग हुँदा
- acua [akwa], cual [kwal], sangue [sangwe]
अन्य अवसरहरूमा I र U लाई पूर्ण स्वरको रूपमा नै उच्चारण गरिन्छ, जस्तै — emosia, abitual, plia ।
सन्ध्यक्षरका उचित उच्चारणका लागि यी नियम बनाइए पनि यिनको पालनामा खासै जोड दिइँदैन ।
व्यञ्जनवर्ण
निम्न अक्षर एलेफेनमा व्यञ्जनवर्ण हुन् :
| B | [b] | ब | ओष्ठ्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | bebe |
| C | [k] | क | कण्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | clica |
| D | [d] | द | दन्त्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | donada |
| F | [f] | फ | दन्त्योष्ठ्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जनवर्ण | fotografi |
| G | [g] | ग | कण्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | garga |
| H | [h] | ह | कण्ठ्य, सङ्घर्षी, सघोष, महाप्राण व्यञ्जनवर्ण | haicu |
| J | [ʒ] | ज (फ्रेन्च उच्चारण) | तालव्य, सङ्घर्षी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | jeolojia |
| L | [l] | ल | दन्त्य, स्पर्शी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | lingual |
| M | [m] | म | ओष्ठ्य, अनुनासिक, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | mesma |
| N | [n] | न | दन्त्य, अनुनासिक, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | negante |
| P | [p] | प | ओष्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | paper |
| R | [r] | र | मूर्धन्य, अन्तःस्थ, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | rubarbo |
| S | [s] | स | दन्त्य, सङ्घर्षी, अघोष, महाप्राण व्यञ्जनवर्ण | sistemes |
| T | [t] | त | दन्त्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जनवर्ण | tota |
| V | [v] | व | दन्त्योष्ठ्य, अन्तःस्थ, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | vivosa |
| X | [ʃ] | श | तालव्य, सङ्घर्षी, अघोष, महाप्राण व्यञ्जनवर्ण | xuxa |
| Z | [z] | ‘ज’ र ‘झ’ को बिच | दन्त्य, सङ्घर्षी, सघोष, अल्पप्राण व्यञ्जनवर्ण | zezea |
निम्नलिखित बुँदाहरूमा ध्यान दिनुहोस् :
- C लाई जहिले पनि ‘क’ उच्चारण गरिन्छ, कहिले पनि ‘स’ उच्चारण गरिँदैन ।
- G लाई जहिले पनि ‘ग’ उच्चारण गरिन्छ, कहिले पनि ‘ज’ उच्चारण गरिँदैन ।
- J लाई फ्रेन्च वा पोर्तगालीमा झैँ उच्चारण गरिन्छ, जुन अङ्ग्रेजी शब्द treasure को s सँग मिल्दोजुल्दो हुन्छ । मानक हिन्दीमा सो ध्वनिको लिप्यन्तरका लागि ‘झ़’ वर्णको प्रयोग गरिन्छ ।
- N लाई longa वा ance मा झैँ G वा C को अगाडि प्रयोग गर्दा त्यसलाई ‘ङ’ उच्चारण गरिन्छ ।
- R लाई स्पेनिया वा इटालेलीमा झैँ जिभ्रो बटारी उच्चारण गरिन्छ ।
- V लाई जहिले पनि ‘व’ उच्चारण गरिन्छ, स्पेनिया वा नेपालीमा झैँ ‘ब’ उच्चारण गरिँदैन ।
- X लाई जहिले पनि ‘श’ उच्चारण गरिन्छ, कहिले पनि ‘क्स’ वा ‘क्ष’ उच्चारण गरिँदैन ।
- Z लाई अङ्ग्रेजी शब्द zoo को z झैँ उच्चारण गरिन्छ, अर्थात् त्यसको उच्चारण ‘ज’ र ‘झ’ को बिचमा हुन्छ । मानक हिन्दीमा सो ध्वनिको लिप्यन्तरका लागि ‘ज़’ वर्णको प्रयोग गरिन्छ ।
केही वक्तालाई केही व्यञ्जनवर्णको उच्चारणमा विभिन्न प्रकारका समस्या हुने भएकाले एलेफेनको उच्चारणमा निम्न विविधतालाई स्विकारिएको छ :
- J
- J लाई ‘ज’ उच्चारण पनि गर्न सकिन्छ ।
- R
- R को उच्चारण स्पष्ट भएसम्म त्यसलाई जिभ्रो नबटारी पनि उच्चारण गर्न सकिन्छ ।
- X
- X लाई ‘च’ उच्चारण पनि गर्न सकिन्छ ।
- Z
- Z लाई ‘त्स’ उच्चारण पनि गर्न सकिन्छ ।
- haicu, bahamas
- H लाई वक्ताको इच्छाअनुसार मूक छोड्न सकिन्छ : [aicu], [ba-amas] ।
- blog, club
- केही अन्तर्राष्ट्रिय शब्दहरू असामान्य व्यञ्जनवर्णमा टुङ्गिन्छन् । त्यस्ता स्थितिहरूमा शब्दको अन्त्यमा E जोड्न सकिन्छ : [bloge], [klube] ।
- spada, strada
- धेरै शब्दहरूको सुरुवातमा S र त्यसपछि कुनै व्यञ्जनवर्णको प्रयोग गरिन्छ । त्यस्ता शब्दका उच्चारणमा समस्या परेमा शब्दको सुरुवातमा E जोड्न सकिन्छ : [espada], [estrada] ।
- gnostica, psicolojia
- केही पारिभाषिक शब्दहरू FT, GN, MN, PS वा PT जस्ता असामान्य व्यञ्जन समूहबाट सुरु हुन्छन् । त्यस्ता शब्द बोल्ने बेला पहिलो व्यञ्जनवर्णको उच्चारण नगर्दा पनि हुन्छ : [nostika], [sikoloʒia] ।
- ambargris, esflue, fortres, rontgen
- केही शब्दहरूमा तीन वा तीनभन्दा बढी व्यञ्जनवर्णलाई क्रमशः प्रयोग गरिन्छ । त्यस्ता शब्दका उच्चारणमा समस्या परेमा शब्दको बिचमा श्वा (अ) थप्न सकिन्छ : [ambarəgris], [esəflue], [forətres/fortəres], [rontəgen] ।
गैर-एलेफेन वर्ण
कुनै पनि शब्दमा गैर-एलेफेन वर्णको प्रयोग गरिएको छ भने तिनलाई निम्न प्रकारले उच्चारण गरिन्छ :
| K | [k] | क |
| Q | [k] | क |
| W | [u] o [w] | उ / ऊ / व |
| Y | [i] o [j] | इ / ई / य |
स्वराघात
एकभन्दा बढी स्वरवर्ण रहेको शब्दमा एउटा स्वरवर्णमा अर्कोभन्दा बढी स्वराघात हुन्छ । निम्न भागमा स्वराघात भएका स्वरवर्ण चिनाउन सो वर्णलाई रेखाङ्कित गरिएको छ ।
सामान्यतया शब्दको उपान्त अंशमा स्वराघात हुन्छ :
- falda
- integra
- matematica
- orgulos
- ranur
शब्दमा प्रत्यय जोड्दा स्वराघातमा परिवर्तन हुन सक्छ :
- matematica → matematical
- radiograf → radiografia (अपरिवर्तित)
- radiograf → radiografiste
यद्यपि, शब्दलाई बहुवचन बनाउने -s प्रत्यय जोड्दा स्वराघातमा कुनै परिवर्तन हुँदैन :
- un falda → du faldas
- un joven → tre jovenes
- ambos — बहुवचन सरह स्वराघात हुने एक विशेष शब्द
स्वराघातको स्थितिमा सन्ध्यक्षरका I वा U लाई व्यञ्जनवर्ण झैँ व्यवहार गरिन्छ :
- abaia
- ciui
- bonsai
- cacau
अन्तिम व्यञ्जनवर्णको अगाडि कुनै स्वरवर्णको प्रयोग गरिएको छैन भने पहिलो स्वरवर्णमा स्वराघात हुन्छ :
- trae
- fea
- tio
- proa
- jua
केही शब्दहरूमा अन्तिम व्यञ्जनवर्णको पछाडि पनि एकभन्दा बढी स्वरवर्णको प्रयोग गरिन्छ । ती स्वरवर्ण IA, IE, IO, UA, UE वा UO हुन् भने अन्तिम व्यञ्जनवर्णको अगाडि रहेको स्वरवर्णमा नै स्वराघात हुन्छ :
- asentua
- jelosia
- rituo
- alio
यद्यपि, अन्त्यमा प्रयोग भएका स्वरवर्णहरू AE, AO, EA, EO, OA, OE वा UI हुन् भने उक्त स्वरवर्णको जोडीको पहिलो स्वरवर्णमा स्वराघात हुन्छ :
- coneo
- idea
- sutrae
- produi
तर अर्को नियमले गर्दा estingui र vacui मा U लाई अर्धस्वर मानिन्छ ।
Ala, asi, agu, ami, enemi, perce, alo, oce र ura मा धेरैजसो उपान्तमा भन्दा पनि अन्तिम स्वरवर्णमा जोड दिइन्छ । दुवै उच्चारणलाई स्विकारिन्छ ।
Media-dia र para-rio जस्ता समासमा दोस्रो भागको स्वराघातलाई कायम राखिन्छ ।
एलेफेनमा शब्द उच्चारण गरिने सुरले शब्दको अर्थमा कुनै परिवर्तन हुँदैन । यद्यपि, वाक्यको अन्त्यमा सुरको उच्चताले प्रश्नको सङ्केत गर्छ :
- Tu parla portuges? – अन्तिम शब्दमा उच्च सुर
- Tu no parla portuges. – अन्तिम शब्दमा अपरिवर्तित सुर
स्वरसन्धान
एलेफेनमा सामान्य शब्दरचनालाई निश्चित नियमहरूले नियन्त्रण बाँध्छ ।
Reenvia र coopera जस्ता शब्दहरूमा झैँ उपसर्गको प्रयोग गरेर दोहोरिएको स्थितिमा मात्रै एउटै स्वरवर्णलाई क्रमशः प्रयोग गर्न सकिन्छ । यस्ता स्थितिमा दुवै स्वरवर्णलाई छुट्टाछुट्टै उच्चारण गरिन्छ ।
ou स्वरानुक्रमलाई सामान्यतया स्विकारिँदैन ।
प्रत्यय जोड्दा एलेफेनमा अस्वीकृत स्वरानुक्रम बन्छ भने उक्त स्वरानुक्रमको दोस्रो स्वरवर्णलाई हटाइन्छ :
- comedia + -iste → (comediiste) → comediste – हास्य कलाकार
शब्दांशको सुरुमा निम्नलिखित २२ व्यञ्जन समूहलाई मात्र प्रयोग गर्न मिल्छ :
- pr-, br-, pl-, bl-
- tr-, dr-
- cr-, gr-, cl-, gl-
- fr-, vr-, fl-
- sl-
- sp-, st-, sc-
- sf-
- spr-, str-, scr-
- spl-, scl-
शब्दांशको अन्त्यमा निम्नलिखित व्यञ्जनवर्णलाई मात्र प्रयोग गर्न मिल्छ र तिनीहरूको अगाडि एउटा स्वरवर्ण हुनुपर्छ :
- -f, -s, -x
- -m, -n, -l, -r
शब्दहरूको बिचमा रहेको व्यञ्जन समूहलाई दुइटा स्वीकृत व्यञ्जन समूहमा छुट्ट्याउन सकिन्छ भने त्यसलाई स्विकारिन्छ :
- encontrante = en-con-tran-te
- mostrablia = mo-stra-bli-a
- instinto = in-stin-to
व्यक्तिवाचक नाम, पारिभाषिक शब्द, अन्तर्राष्ट्रिय शब्द र सांस्कृतिक शब्दमा यी नियमहरूको पालना नगर्न पनि सकिन्छ ।