नाम
सामान्यतया निर्धारकले वाक्यमा नामको परिचय गराउँछ र नामको पछाडि विशेषण वा सम्बन्ध कारकको प्रयोग गर्न सकिन्छ, जसले गर्दा नामिक पदको रचना हुन्छ । सामान्य नामले व्यक्ति, वस्तु वा स्थान जस्ता भौतिक चिजलाई जनाउँछ तर नामले व्यकरणात्मक दृष्टिले समान भावना तथा अवधारणालाई समेत बुझाउन सक्छ ।
बहुवचन
नामको पछाडि -s प्रत्यय जोड्दा उक्त नाम बहुवचन हुन्छ । एकवचन नामको अन्तिममा व्यञ्जनवर्ण छ भने सो नामको अन्त्यमा -es प्रत्यय लगाउनुपर्छ । बहुवचन प्रत्ययले शब्दको स्वराघातमा कुनै परिवर्तन ल्याउँदैन :
- gato, gatos – बिरालो, बिरालाहरू
- om, omes – पुरुष, पुरुषहरू
नाम बहुवचन भए पनि उक्त नामको गुण वा विशेषता जनाउने विशेषणमा कुनै परिवर्तन हुँदैन । यद्यपि, विशेषणलाई नामको रूपमा प्रयोग गर्दा सो विशेषणलाई बहुवचनमा बदल्न सकिन्छ :
- la bones, la males, e la feas – राम्रा, नराम्रा र कुरूप (व्यक्तिहरू)
- multe belas – धेरै सौन्दर्य
केही भाषाहरूमा बहुवचन मानिने केही वस्तुहरूलाई एलेफेनमा एकवचन मानिन्छ :
- El regarda un sisor con un binoculo. – उसले दूरबिनको प्रयोग गरी कैँचीलाई हेर्दै छ ।
- On usa un bretela per suporta sua pantalon. – पाइन्टलाई भर्न नदिन सस्पेन्डरको प्रयोग गरिन्छ ।
- Me ia compra esta oculo de sol en Nederland. – मैले यो धूपको चस्मा नेदरल्यान्डमा किनेकी थिएँ ।
गणनीय र अगणनीय नाम
धेरै भाषाहरूमा जसरी नै एलेफेनमा पनि नामलाई गणनीय र अगणनीय गरी दुई भागमा छुट्ट्याइन्छ । गणनीय नामलाई सङ्ख्याको आधारमा परिवर्तन गर्न सकिन्छ र त्यस्ता नामले बहुवचन प्रत्यय -s स्विकार्छन् । सामान्य गणनीय नामले विशिष्ट एकाइलाई जनाउँछ :
- un auto; la autos; cuatro autos – कार; कारहरू; चारवटा कारहरू
- un gato; multe gatos; un milion gatos – बिरालो; धेरै बिरालाहरू; दस लाख बिरालाहरू
गणनीय नामका विपरीत अगणनीय नामले बहुवचन प्रत्यय -s स्विकार्दैनन् । सामान्य अगणनीय नामले तरल पदार्थ, धुलो पदार्थ, द्रव्य, भावना र अवधारणा जस्ता अविशिष्ट एकाइलाई जनाउँछ । अगणनीय नामको अगाडि परिमाणबोधक विशेषणको प्रयोग गर्दा स्पष्टताका लागि नापतौलको एकाइ पनि राखिन्छ :
- la acua; alga acua; tre tases de acua – पानी; थोरै पानी; तीन कप पानी
- lenio; multe lenio; du pesos de lenio – काठ; धेरै काठ; दुई टुक्रा काठ
यद्यपि, विशेष स्थितिहरूमा अगणनीय नामलाई गणनीय नामका रूपमा पनि प्रयोग गर्न सकिन्छ :
- Du cafes, per favore. – कृपया दुइटा कफी पाऊँ ।
- Me ia proba multe cesos. – मैले धेरै चिजहरू चाखेको छु ।
- On no pote compara la belias de Paris e Venezia. – पेरिस र भेनिसका सुन्दरताका तुलना गर्न सकिँदैन ।
लिङ्ग
सामान्यतया एलेफेनमा नामले आफूले चिनाएको वस्तुको लिङ्ग जनाउँदैन । नामको लिङ्ग जनाउन mas र fema विशेषणहरूको प्रयोग गरिन्छ :
- un cavalo mas – घोडा
- un cavalo fema – घोडी
यद्यपि, पारिवारिक सम्बन्ध जनाउने केही शब्दहरूको अन्त्यमा -a भए स्त्रीलिङ्ग र -o भए पुलिङ्ग भन्ने बुझिन्छ :
- ava, avo – हजुरआमा, हजुरबुबा
- fia, fio – छोरी, छोरा
- neta, neto – नाति, नातिनी
- sobrina, sobrino – भतिजी / भान्जी, भतिजा / भान्जा
- sposa, sposo – पत्नी, पति
- tia, tio – काकी / माइजू, काका / मामा
- xica, xico – केटी, केटो
केही शब्दहरू सुन्नमा भिन्न भए पनि तिनीहरूले एउटै धारणाका भिन्न लिङ्गलाई चिनाउँछन् :
- dama, cavalor – बेगम, बादसाह
- diva, dio – भवानी, भगवान्
- fem, om – महिला, पुरुष
- madre, padre – आमा, बुबा
- rea, re – रानी, राजा
- seniora, senior – श्रीमती, श्रीमान्
- sore, frate – दिदी / बहिनी, दाइ / भाइ
कहिलेकाहीँ ऐतिहासिक सामाजिक भूमिकाका पदको नाममा -esa प्रत्यय लगाई सो पदलाई स्त्रीलिङ्गी बनाइन्छ :
- abade, abadesa – मठाधीश (पुलिङ्गी), मठाधीश (स्त्रीलिङ्गी)
- baron, baronesa – ब्यारन, ब्यारोनेस
- conte, contesa – काउन्ट, काउन्टेस
- duxe, duxesa – ड्युक, डचेस
- imperor, imperoresa – सम्राट्, सम्राज्ञी
- marci, marcesa – मार्केस, मार्सनेस
- prinse, prinsesa – राजकुमार, राजकुमारी
- tsar, tsaresa – जार, जारिना
नामिक पद
नामिक पदमा नाम र त्यसका विशेषकलाई समावेश गरिन्छ । यी विशेषकअन्तर्गत नामको अगाडि आउने निर्धारक र पछाडि आउने विशेषण र सम्बन्ध कारक पर्दछन् ।
वाक्यका दुई अत्यन्तै महत्त्वपूर्ण नामिक पद हुन् कर्ता र कर्म । कर्ता क्रियापदको अगाडि आउँछ भने कर्म क्रियापदको पछाडि । वाक्यमा सम्बन्ध कारकले अन्य नामिक पदको परिचय गराउँछ ।
नामिक पदमा सामान्यतया एउटा निर्धारक वा बहुवचन प्रत्यय -s लागेको नाम हुनुपर्छ । तथापि, सो नियम व्यक्तिवाचक नाम, बार, महिना वा भाषाका नाम तथा अगणनीय नामको अवस्थामा लागु हुँदैन :
- Desembre es calda en Australia. – अस्ट्रेलियामा डिसेम्बरमा न्यानो हुन्छ ।
- Nederlandes es mea lingua orijinal. – डच मेरो मातृभाषा हो ।
- Me gusta pan. – मलाई पाउरोटी मन पर्छ ।
विशेषतः सामान्य उखान तथा टुक्काहरूमा सम्बन्ध कारकको पछाडि नामिक पद आउँदा सो नियमको पालना अनिवार्य छैन :
- El es la comandor de polisia. – उनी प्रहरी महानिरीक्षक हुन् ।
- Me no gusta come bur de aracide. – मलाई पिनट बटर खान मन पर्दैन ।
- Nos vade a scola. – हामी विद्यालय जाँदै छौँ ।
- Acel es un problem sin solve en matematica. – त्यो गणितको एक अनुत्तरित प्रश्न हो ।
- Un virgula pare nesesada per claria. – स्पष्टताका लागि एउटा अल्पविराम आवश्यक देखिन्छ ।
विशेषण तथा निर्धारकमाथि क्रियाविशेषणले प्रभाव पार्न सक्छ । क्रियाविशेषण पनि विशेषण जस्तै देखिने हुनाले वाक्यमा प्रयोग भएका विशेषणहरूलाई अल्पविराम वा e को प्रयोग गरी छुट्ट्याइन्छ । बोल्ने बेला स्वरको उतार-चढाउले विशेषण तथा क्रियाविशेषणको बिच फरक छुट्टिन्छ :
- Sola un poma multe putrida ia resta. – एउटा अत्यन्तै कुहिएको स्याउ मात्रै बाँकी रह्यो ।
- Me ia encontra un fem bela intelijente. – मैले एक राम्रो प्रवृत्तिकी बुद्धिमान् महिला भेटेँ ।
- Me ia encontra un fem bela, joven, e intelijente. – मैले एक सुन्दर, तरुणी र बुद्धिमान् महिला भेटेँ ।
कहिलेकाहीँ एउटा नामले सम्पूर्ण वर्गलाई बुझाउँछ । त्यस्ता स्थितिहरूमा la वा un को प्रयोग अथवा नाम एकवचन वा बहुवचनमा छ भन्ने कुराले खासै असर गर्दैन :
- La arpa es un strumento musical. – हार्प एक वाद्ययन्त्र हो ।
- Un arpa es un strumento musical. – हार्प एक वाद्ययन्त्र हो ।
- Arpas es strumentos musical. – हार्पहरू वाद्ययन्त्र हुन् ।
सर्वनाम नामिक पदको विशेष अवस्था हो । सामान्यतया सर्वनामको विकार गर्न सकिँदैन ।
समानाधिकरण
उही अर्थलाई स्पष्ट र राम्रो पार्न आउने एकै जातको वा समानार्थक अर्को शब्दलाई समानाधिकरण भनिन्छ । एलेफेनमा सामान्यतया दोस्रो शब्द वा वाक्यांशले अर्थ स्पष्ट पार्छ :
- la Rio Amazona – अमेजन नदी
- la Mar Pasifica – प्रशान्त महासागर
- la Isola Skye – स्काईको द्वीप
- la Universia Harvard – हार्भर्ड विश्वविद्यालय
- la Funda Ford – फोर्ड संस्थान
- Re George 5 – राजा जोर्ज पाँचौँ
- San Jacobo la major – सन्त जेकब महान्
- Piotr la grande – पिटर महान्
- mea ami Simon – मेरो साथी सिमोन
- la parola “inverno” – “inverno” शब्द
- la libro La prinse peti – सानो राजकुमार किताब
नामको पछाडि आएको सङ्क्षेपक चिह्न वा एकल अक्षरले उक्त नाममाथि प्रत्यक्ष प्रभाव पार्न सक्छ :
- La disionario es ance disponable como un fix PDF. – शब्दकोश पिडिएफ फाइलको रूपमा पनि उपलब्ध छ ।
- El ia porta un camisa T blu de escota V. – उनले निलो रङको भी गला भएको टिसर्ट लगाएकी थिइन् ।
कहिलेकाहीँ एउटै व्यक्ति वा वस्तुलाई चिनाउन दुइटा नामलाई सँगै प्रयोग गरिन्छ । त्यस्तो बेलामा ती दुई नामलाई योजक चिह्नको प्रयोग गरी जोडिन्छ :
- un produor-dirijor – निर्माता-निर्देशक
- un primador-scanador – प्रिन्टर-स्क्यानर
सबै स्थितिमा दुवै नाममा बहुवचन प्रत्यय -s वा -es लगाइन्छ :
- la statos-membros – सदस्य राज्यहरू
- produores-dirijores – निर्माता-निर्देशकहरू
एक विशेष अवस्थामा nomi (नाम राख्नु / बोलाउनु) क्रियापदको प्रयोग गरिन्छ :
- Nos ia nomi el Orion. – हामीले उसको नाम ओरियोन राख्यौँ ।
- Me nomi esta forma un obelisce. — म यस आकारलाई स्ताम्भाकार भन्छु ।